काठमाडौं– देशका विभिन्न क्षेत्रमा सोमबार रातीदेखि ठूलो झरी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले बताएको छ।
कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ–गर्जन÷चट्याङ र हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। दिउँसोपख पनि देशभर मौसम अदलीबदली भई पानी पर्नेछ। कोसी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ।
मधेस र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। राती १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको हो।
भारी वर्षा भएको क्षेत्र भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुबान हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदी तटीय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।


