गलकोट (बाग्लुङ)- काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन्। यी सुन्दर मात्र होइनन्, टिकाउ पनि उत्तिकै हुन्छन्।
काष्ठकलाको खर्च र मेहनत भने कम्ता छैन। यसबारे अनुमान लगाउन मुस्किल पर्छ। मठ, मन्दिर, सत्तल, पाटीपौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ।
पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको छ। काष्ठकला पुस्तान्तरण हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको छ।
थुप्रै चुनौतीसँग जुध्दै बागलुङ नगरपालिका-३ का भीमबहादुर विश्वकर्माको परिवारले सात पुस्ता अघिदेखिको विरासत धान्दै आएका छन्।
खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यून रूपमा गर्न थालेको विश्वकर्मा बताउँछन्। ‘धेरै समस्या छन्, तर मैले पुर्खाको पेसालाई जोगाइराखेकै छु’, उनले भने। बागलुङमा घरमा भन्दा पनि मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ। गत भदौदेखि विश्वकर्मा बागलुङ कालिका मन्दिरमै बास बसेर मन्दिरलाई कलात्मक बनाउन लागिपरेका छन्। उनीसँगै कान्छा छोरा विकास पनि मन्दिरमै बुवासँगै काष्ठकलामा छन।
कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६० वर्षीय विश्वकर्माले लिएका छन्। विश्वकर्माको जीवन काष्ठकलामै बित्यो। आफ्नो सात पुस्तादेखि नै मुख्य पेसा काष्ठकला नै रहेको उनी बताउँछन्। बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवान्का आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि विश्वकर्मा काष्ठकलातर्फ आकिर्षत भएका हुन्।
थुप्रै चुनौतीसँग जुध्दै बागलुङ नगरपालिका-३ का भीमबहादुर विश्वकर्माको परिवारले सात पुस्ता अघिदेखिको विरासत धान्दै आएका छन्।
आठ लाखमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवानका आकृति तयार गरिरहेका विश्वकर्माले काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण हुँदै आएकोमा खुसी छन्।
विश्वकर्मासँग काष्ठकलासहित तामाले छाउने कौशलसमेत छ। उनले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका छन्। ‘सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नुभएकै २० वर्ष भयो’, उनी भन्छन्, ‘अहिले पुनः कालिका मन्दिर क्षेत्रमा निर्माण गरिने हवन कुण्ड, शिवालय र गणेश मन्दिरमा मैले आफ्नो कला पोख्ने अवसर पाएको छु।’
विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका थिए। गुल्मीको रिडीस्थित रिडेश्वर मन्दिर पनि उहाँकै पुर्खाले बनाएको विश्वकर्माको भनाइ छ। कालिका मन्दिरको मुख्यद्वार नजिकै बुवाको नाम देखाउँदै भने।
‘काष्ठकलाकै कामले जीवन चलाउँदै आएको छु’, पञ्चकोट, कारिकोट, तित्याङ मनकामनालगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उनले भने।
सानैदेखि बुवासँग काष्ठकलाको काम सिकाएकाले अहिले सहज भएको विश्वकर्माको भनाइ छ। कान्छो छोरा विकासले काष्ठकलाको काम सिकिसकेकाले पुस्तान्तरण भएको उनको ठम्याइ छ। पछिल्लो समय कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ।
‘काष्ठकलाकै कामले जीवन चलाउँदै आएको छु’, पञ्चकोट, कारिकोट, तित्याङ मनकामनालगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उनले भने।
घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उनी बताउँछन्। कालिका मन्दिरको हवन कुण्डमा नाग देवता, भगवती, बुद्ध भगवान्, विष्णु, देवी र जलदेवतालगायत आकृतिमा काठ कुँदेर निर्माण गरिएको उनले जानकारी दिए। विश्वकर्माले कलात्मक ढङ्गले कुँदिएको ढोकालाई अहिलेको बजारभाउ रु एक लाख ८० हजार पर्ने बताए। उनले पुस्ताले एक स्थानमा बनाएको आकृति अर्को स्थानमा नबनाउँदा उक्त मन्दिरको कलात्मक महत्व बढेर जाने उल्लेख गरे। काष्ठकलामा लागेर पुर्खाले बिर्ता पाएको समेत सुनाए। उनलाई अहिले काष्ठकलाबाट जीवन गुजरा मात्रै चलाउन ठिक्क छ।
‘कहिलेकाँही काष्ठकलाको काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ, कतिबेला भने खाली हात बस्नुपर्ने बाध्यता हुन्छ’, विश्वकर्माले भन्छन्। बालभैरव मन्दिर, तित्याङ मनकामना मन्दिर, विभिन्न कूल मन्दिर तथा कयौँ व्यक्तिगत घरका टुडाँल, झ्याल तथा ढोका बनाइसकेको उनले बताए।



