काठमाडौं – रियल मड्रिड फुटबल क्लबका मूख्य प्रशिक्षक कार्लो एन्सोलोटीले ब्राजिलको राष्ट्रिय फुटबल टिम सम्हाल्ने पक्का भएको छ। स्पेनिस् क्लबसँग एन्सोलोटीको सम्झौता अर्को वर्ष मात्र सकिने छ। उक्त सम्झौताको अवधि सकिएपछि एन्सोलोटीले ब्राजिलको राष्ट्रिय फुटबल टिम हेर्ने पक्का भएको हो।
यसअघि पनि लामो समयदेखि एन्सोलाटी ब्राजिलको प्रशिक्षक बन्ने हल्ला चलिरहेको थियो। तर यसबारे आधिकारिक जानकारी आएको थिएन्। यद्यपी ब्राजिली खेलाडीले उनीबारे सकारात्मक प्रतिकृया दिँदै आएका थिए।
ब्राजिलका ठुला स्टारले एन्सोलोटी मुख्य प्रशिक्षक बन्ने खुलाएका थिए। नेयमारले केही समय अघि उनले धेरै कुरा सिकाउन सक्ने बताएका थिए भने भिनिसियस जुनियरले विश्वको उत्कृष्ट प्रशिक्षकको रुपमा एन्सेलोटीलाई ब्याख्या गरेका थिए। अहिले भने ब्राजिली फुटबल संघका अध्यक्ष एडनाल्डो रोड्रिग्सले अर्को वर्षदेखि एन्सेलोटीले टिम सम्हाल्ने जानकारी दिएका हुन्।
अर्को वर्षको फुटबल सिजन सकिएसँगै एन्सेलोटीको रियल मड्रिडसँगको सम्झौता सकिँदैछ। त्यसपछि एन्सेलोटीले ब्राजिली टिम सम्हाल्ने जानकारी ब्राजिली फुटबल संघका अध्यक्षले गराएका हुन्।
यसअघि ब्राजिलको मूख्य प्रशिक्षकमा टिटे रहेका थिए। उनले सन् २०२२ को विश्वकपपछि नै ब्राजिली टिम छाडेका थिए। उनको प्रशिक्षणमा ब्राजिलले कतार विश्वकपमा क्रोएसियासँग हार बेहोरेर बाहिरिएको थियो। त्यसपछि उनी बाहिरिएका हुन्। यसबीचको ग्यापमा भने ब्राजिलको टिम फर्नान्डो डिनिजले सम्हाल्नेछन्।
‘फर्नान्डो डिनिजले एक वर्षका लागि अन्तरिम रुपमा टिमको कार्यभार सम्हाल्नेछन्। र फ्लुमिनेन्सको प्रशिक्षकको रुपमा आफ्नो कामलाई समेत निरन्तरता दिनेछन्। सन् २०२४ को समरमा एन्सेलोटीको सम्झौता सकिनेछ। त्यसपछि उनले ब्राजिलको कार्यभार सम्हाल्नेछन्,’ रोड्रिग्सले भने।
यता, रियल मड्रिड समेत एन्सेलोटीको बहिर्गमनपछिको तयारीमा छ। उसले पूर्व मिडफिल्डर जाभी अलान्सोलाई एन्सेलोटीको विकल्पको रुपमा हेरेको छ।


