काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेले हिजो संसदमा प्रधानभन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेपछि सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले राजीनामा दिनु नपर्ने ठहर गरेको छ। साथै सत्ताधारी दल नेपाली काँग्रेसहितको गठबन्धन बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने कदम असंसदीय रहेकोसमेत ठहर गरेको छ।
बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, एमालेले गरेको संसद अवरोध, प्रधानमन्त्रीको राजीनामा मागलगायतका विषयमा छलफल भएको थियो। आजको बैठकले अब प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा निर्णय भएको हो।
एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेका अनुसार प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसदमा हिजो अवरोध गरेको र अवरोध मात्र होइन, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आएको थियो।
पाण्डेले भने, ‘उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो। संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउँछ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान सरकारमा सहभागी ७ दलको बैठक
सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर प्रचण्डको धेरै आलोचना भएको छ। उक्त कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो।’
यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्ष नेकपा(एमाले) लगायतका दलले बुधबार सदनमा देखाएको व्यवहार असंसदीय रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा ‘फेस’ गर्ने निर्णय गरेको नेकपा९एकीकृत समाजवादी०का उपाध्यक्ष राजेन्द्र पोण्डेले जानकारी दिए।
‘प्रधानमन्त्रीले कुनै सन्दर्भमा बोलेको केही विषयमा कोही कसैलाई आपत्ति भए संसद्मा आवाज उठाउन पाइन्छ । तर, उहाँहरु ९प्रतिपक्षी० ले जे गर्नुभयो त्यो निर्णय असंसदीय छ,’ उनले भने।
यस्तै बैठकले कोशी प्रदेशको मुख्यमन्त्री पदमा आज साँझ ५ बजेसम्म नेपाली कांग्रेसका नेता उद्धव थापालाई प्रस्ताव गने निर्णय गरेको छ। यसअघि नै गठबन्धनले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई समेत बोलाएर तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।

यसैगरी मिटरब्याजका सम्बन्धमा पनि आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए। ‘बुधबार एमालेलगायतका अवरोधका कारण पीडित जनतालाई राहत दिने अध्यादेश पारित हुन सकेन। अनावश्यक विषय उचालेर सदन अवरोध गरियो,’ उनले भने, ‘त्यसलाई पनि शीघ्र अगाडि बढाउने र आवश्यक प्रक्रिया मिलाउने सहमति आजको बैठकमा भएको छ।’
प्रमुख प्रतिपक्षलगायतका दलले के कति दिन सदन अवरोध गर्ने र किन गर्ने भन्ने विषयमा नेपाली जनतालाई पनि स्पष्ट जवाफ दिनुपर्ने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेको भनाइ छ। प्रतिपक्षीलगायतका दल जनताको शोषण गर्ने मिटरब्याजीको पक्षमा उभिएको स्पष्टै देखिएको उनको भनाइ छ।
माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले प्रधानमन्त्रीको कुरा नै नसुनी एकोहोरोरुपमा राजीनामा माग्नु गलत भएको बताउनुभयो । उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने कल्पना पनि गर्न सकिँदैन । प्रधानमन्त्रीले सदनमा आफ्ना कुरा राख्नुहुन्छ।’
मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकार लागिपरेको तथा सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढताका साथ अगाडि बढ्ने निर्णय आजको बैठकले गरेको पाण्डेले बताए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका शीर्ष नेताको सहभागिता थियो।


