काठमाडौँ- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले जिल्ला तहमा सरकारले पार्टीसँग समन्वय नगरेको गुनासो गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा सरकार र पार्टीका कामबारे समीक्षा गर्दै जिल्ला सभापतिहरूले यस्तो गुनासो गरेका हुन्।
यस विषयमा पार्टी र सरकारको ध्यानाकर्षण गराउन आवश्यक रहेको कांग्रेस सभापतिहरूको भनाइ छ। कांग्रेस प्रचार विभागका प्रमुखले बैठकमा सरकारमा र पार्टी नेतृत्वका विषयमा छलफल भएको जानकारी दिए।
‘जिल्ला सभापतिहरुले पार्टी नेतृत्व र सरकारबारे पनि धारणा राख्नुभएको छ। सरकारले पार्टीसँग समन्वय नगरेकोबारे ध्यानाकर्षण गराउनुभएको छ,’ बैठकपछि विश्वकर्माले भने।
यस्तै उनले क्रियाशील सदस्यता वितरणसम्बन्धी कामले गति लिएको जानकारीसमेत दिए। ‘जिल्ला सभापतिहरुलाई केन्द्रीय कार्यालयमा बोलाएर सदस्यतालाई अनलाइनबाट वितरण गर्ने प्रणालीबारे प्राविधिक सहयोगीहरुको प्रस्तुतिसहित जानकारी गराएका छौँ,’ उनले भने। उनका अनुसार बैठकमा ६० जिल्लाका सभापतिहरू भौतिक रूपमा नै उपस्थित थिए भने बाँकी भर्चुअल प्रविधिबाट बैठकमा जोडिएका थिए।
‘क्रियाशील सदस्यता महाधिवेशनको संघारमा मात्रै नवीकरण गर्ने प्रचलनले अप्ठ्यारो परेकोमा अब नियमित रुपमा नवीकरण गर्न पाउने व्यवस्था गरेका छौँ,’ विश्वकर्माले भने, ‘क्रियाशील सदस्यतासम्बन्धी विवाद र मतभेद कम हुने विश्वास लिएका छौँ।’
आजकै बैठकमा पार्टीले आगामी दिनमा लिनुपर्ने रणनीति र कार्यक्रमबारे पनि छलफल भइरहेको छ। महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बैठकको उदेश्यबारे जानकारी गराएका थिए।


