हेटौंडा– मकवानपुरमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडक खण्डमा दुई ट्रक एकआपसमा जुध्दा ठूलो दुर्घटना भएको हो।
शुक्रबार राती पौने २ बजे हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।
दुर्घटनामा तीन जनाको ज्यान गएको कार्कीले बताए। मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ का वर्ष २८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गापा–२ गोर्दीटारका वर्ष २१ का सुमन चेपाङ र ना६ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा–३ का वर्ष २० का अमृत प्रजा रहेको कार्कीले जानकारी दिए।
ट्रकमा लागेको आगलागी नियन्त्रणमा लिन हेटौंडाबाट दुई वटा दमकल ल्याइए पनि दुवै सवारी पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले बताएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा ना६ख ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ति नपा–३ का वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नम्बरको ट्रक चालक मकवानपुर मनहरी गापा–३ का वर्ष ३२ का अर्जुनकुमार प्रजा रहेको बताइएको छ।



