काठमाडौं– अवरुद्ध नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आएको छ। शनिबारबाट अवरुद्ध सडक ९ घन्टापछि आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। तीन एक्जाभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो।
अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र सडक यात्रा गर्न आग्रह गरे।
असार लागेपछि पटक–पटक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक हजारौं सवारीसाधन आउजाउ गर्छन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।


