काठमाडौं – नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) ले सञ्चालन गर्ने ओलम्पियाडको १० औं संस्करण सम्पन्न भएको जानकारी आयोजकले दिएको छ। नासोले शनिबार एक सूचनामार्फत् ओलम्पियाडमा विजेता हुने विद्यार्थीको नाम सार्वजनिक गर्दै प्रतियोगिता सम्पन्न भएको जानकारी दिएको हो।
‘सन् २०२३ का लागि संचालित दशौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२३’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नजिता प्रकाशन गरिएसंगै समापन भएको छ,’ नासोले जारी गरेको सूचनामा लेखिएको छ।
नासोले हरेक वर्ष नेपालका ७ वटै प्रदेशमा ओलम्पियाड कार्यक्रम संचालन गर्ने गर्दछ। त्यसबाट छानिएर बन्द शिविरमा रहेका प्रथम तथा दोस्रो चरणबाट छनोट भएका जुनियर र सिनियर विधाका जम्मा ४२ विद्यार्थीले सक्रिय सहभागीता जनाएको नासोले जानकारी दिएको छ।
यस बर्ष सिनियरतर्फ गण्डकी बोर्डिङ्ग स्कुल, पोखरा, कास्कीका श्री सुदिप रोकाया प्रथम भएका छन्। त्यस्तै जुनियर विधातर्फ क्रिएटिभ एकेडेमी, किर्तिपूर, काठमाडौंकी श्री स्लेशा शिवाकोटी प्रथम भईन्।
यस वर्ष बन्द शिविर भर्चुअल रुपमा असार ८ गतेदेखि १५ गतेसम्म संचालन गरिएको थियो भने अन्तिम परिक्षा असार २० गते काठमाडौंको बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा संचालन गरिएको आयोजकले जानकारी दिएको छ।
बन्द शिविरमा विद्यार्थीहरुलाई स्वदेश तथा विदेशमा रहनुहुने नेपाली तथा विदेशी विषय विज्ञहरुमार्फत् खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु संचालन गरिएको थियो। शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई यस बर्ष संचालन हुने विभिन्न अन्तरराष्ट्रिय एष्ट्रनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिने आयोजको योजना रहेको छ।


