काठमाडौँ– नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना नर्स पक्राउ परेका छन्। शनिबार भएको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ रहेका छन्।
त्यस्तै, अल ब्राइट इन्स्टिच्यूट पोखराका ५० वर्षीय चिजकुमार (रामू) श्रेष्ठलाई प्रहरीले बोलाएको बेला उपस्थित हुन भनिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
शनिबार वनस्थलीथित सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा भएको नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षामा उनीहरुले प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपमा हालेका थिए। त्यसपछि सोही ग्रुपमा आएको कम्मेन्ट उनीहरुले उत्तरपुस्तिकामा सारेका थिए।
प्रहरीले ती परीक्षार्थीको मोबाइल पनि बरामद गरेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उता नेपाल नर्सिङ काउन्सिलले भने नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट भएको भन्दै नतिजा स्थगन गरेको छ।


