काठमाडौं– प्रहरीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएका ५ सय सवारीसाधन फेला पारी सवारीधनीलाई जिम्मा लगाएको छ। सवारी साधान चोरीमा संलग्न रहेको ३६ जनालाई कारबाही गरेको छ। कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सोमबार मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुईपांग्रे सवारी साधन खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए।
उनले १२ वटा मोटरसाइकल र ९ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको बताए। अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय पठाइएको भट्टको भनाइ छ।
चालू आवमै चोरीका दुईपांग्रे ३२ सवारी साधनसहित चोरीमा संलग्न ३६ व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ। हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारीधनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ।
आफ्नो सवारीको ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अवलम्बन गर्न पनि प्रहरीले अनुरोध गरेको छ। यस्तै, प्रहरीले मानिसको आउजा नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि आग्रह गरेको छ।
सवारी साधन हराए ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।


