भक्तपुर– भक्तपुर अस्पतालले अस्पतालसम्म आउन नसक्ने बिरामीलाई घरमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले ‘घरदैलो स्वास्थ्य अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आगामी साउनदेखि जिल्लाका चार वटा नगरपालिकासँग समन्वय गरी स्वास्थ्य पहुँचबाट टाढा रहेका तथा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आउन नसक्ने बिरामीलाई लक्षित गरी घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिए।
सुरुमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा अभियान सञ्चालन गर्ने भन्दै उनले क्रमशः मध्यपुरथिमि र भक्तपुर नगरपालिकामा सञ्चालन गरिने बताए। भक्तपुर नगरपालिकाले यसअघि नै घरदैलो स्वास्थ्य सेवा दिँदै आएको जानकारी दिँदै डा. गौतमले वडा कार्यालयसँग समन्वय र छलफल गरी आवश्यकताअनुसार सञ्चालन गरिने उनको भनाइ छ।
अन्य नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको र वडा कार्यालयसँगसमेत समन्वय गरेर वडा–वडामा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली गएर स्वास्थ्य परीक्षण, औषधि वितरण, रोग पहिचान तथा थप उपचारका कार्यक्रम सञ्चालन गर्ने मेसु डा. गौतमले जानकारी दिए।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले अस्पतालले सञ्चालन गर्ने घरदैलो स्वास्थ्य अभियान कार्यक्रमबाट विशेष गरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिकालगायत स्वास्थ्य पहुँचबाट टाढा रहेका र छिट्टै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्न नसकेका नागरिकले फाइदा लिन सक्ने बताए। कार्यक्रममा रोग पहिचान भएका बिरामीलाई भने अस्पतालमा ल्याएर उपचार गर्ने÷गराउने व्यवस्था गरिने उनको भनाइ छ।


