काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले नेपालमा मनसुन सुरु भएयता हालसम्म २५ को मृत्यु, २५ बेपत्ता र १८ जना घाइते भएको विवरण सार्वजनिक गरेको छ। शाखाका अनुसार ३१ जेठमा नेपालमा मनसुन प्रवेश गरेपछि बाढीपहिरोलगायत प्रकोपमा परेर मानवीय क्षति भएको हो।
गृहका अनुसार हालसम्म बाढीपहिरोबाट ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति पुगेको छ। यस वर्षको बाढीपहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको शाखाले जनाएको छ। संखुवासभामा तीन जनाको मृत्यु भएको छ भने १९ बेपत्ता अझै भेटिएका छैनन्।
यस्तै, पाँचथरमा तीनको मृत्यु र तीनै जना बेपत्ता छन्। ओखलढुंगामा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्युु भएको गृहको विवरणमा उल्लेख छ।
यस वर्ष बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने आकलन यसअघि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिसकेको छ। बाढीपहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने प्रक्षेपण गृहले गरेको छ।


