काठमाडौँ – काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको जानकारी दिएको छ। सडक व्यापारी हटाउनेक्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिएका हुन्। स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ।
‘अमानवीय व्यवहार देखिएपछि हामीले यस अघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हाम्रा व्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ। यसका साथै जनस्तरका आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेका छौँ,’ पाण्डेको भनाइ छ।
यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।


