काठमाडौं – नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपालले सातौं प्रधामन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको चौथो दिन पनि जित निकालेका छन्।
नेपाल भलिबल संघको आयोजनामा भएको लिग प्रतियोगितामा आज नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० ले पराजित गरेको छ। पुलिसले २५–२१, २५–१९, २५–१७ को सोझो सेटमा जित हात पारेको हो। पुलिसको ३ खेलबाट ८ अंक भएको छ। पुलिसले आफुले खेलेका ३ वटै खेल जितेतामा पनि गण्डकी संग अंक बाडेको थियो।
यस्तै पुरुष तर्फकै अर्को खेलमा टिपटप हेल्प नेपालले पनि आफ्नो तेश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लब माथी ३–० को जित निकालेको छ। हेल्प नेपालले गण्डकीमाथी २५–२२, २५–१७, २८–२६ को जित निकालेको हो। यस जितका साथ हेल्प नेपालको ९ अंक भएको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–९, २५–१२, २५–११ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको छ। एपिएफको ३ खेलबाट ८ अंक भएको छ। एपिएफले आर्मी संग अंक बाँडेको थियो।
यस्तै गरि न्यू डायमन्ड र आर्मीबिच भएको खेलमा न्यू डायमन्डले ३–२ सेटको जित आत्मसाथ ग¥यो। पहिलो र दोश्रो सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेश्रो र चौथो सेट १९–२५, २२–२५ ले आर्मीलाई सुम्पन पुग्यो। पाँचौ तथा अन्तिम सेटमा डायमन्डले १५–९ ले खेललाई आफ्नो पक्षमा पार्दै खातामा थप २ अंक जोडेको हो। हारका बावजुद आर्मीको यो सहित २ अंक भएको छ।
राउण्ड रोविन लिगमा क्लबले प्राप्त गरेको अंकको आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गर्ने टोलीविच फाईनल स्पर्धा हुने र प्रधानमन्त्री कपको उपाधी प्राप्त गर्ने अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाले जनाएका छन्।


