काठमाडौं – टिपटप नेपालका खेलाडी अमृत क्षेत्रीले भलिबल प्रतियोगिताको फाइनलको रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि हातपातको प्रयास गरेका छन्। मिडिया बक्समा बाहिरको मानिस प्रवेश गरेर आफूलाई काम गर्न अप्ठ्यारो भएको भन्दै सम्झाउने क्रममा पत्रकामाथि हातपातको प्रयास अमृतले गरेका थिए।
हेल्प नेपालका अमृतले खेलपाटीका संवाददाता रहेका खेल पत्रकार विशाल पन्थमाथि हातपातको प्रयास गरेका हुन्। उपस्थित पत्रकार, सुरक्षाकर्मी र खेलकुद पत्रकार मञ्चका केही सादस्यहरुले रोकेपछि पत्रकार पन्थमाथि कुटपिट हुन भने पाएन। अमृतले अपशब्द बोल्दै पत्रकारमाथि गालीगलौच गरेका थिए र आक्रमणको प्रयास गरेका थिए।
केही दिन अघि मात्र त्रिभुवन आर्मीका खेलाडी धनबहादुर भट्टले प्यारापिटमा नै गइ दर्शकमाथि हातपात गरेपछि उनी छ महिनाको प्रतिबन्धमा परेका छन्। उनीसँगै बाँकी दुई खेलाडी पनि तीन तीन महिनाको प्रतिबन्धमा परेका छन्। टिकट काटेर खेल हेर्न कोर्ट पुगेका दर्शकमाथिनै खेलाडी जाईलागेपछि खेलाडीको अनुशासनमाथि प्रश्न उठेपछि उनीहरु प्रतिबन्धका परेका हुन्।
त्यसको केही दिन नबित्दै भलिबल खेलाडी अमृत क्षेत्रीले पत्रकारमाथि हातपातको प्रयास गरेका हुन्। प्रधानमन्त्री कप क्लब लिग भलिबल च्याम्पियनसिपको अन्तिम दिन हेल्प र एपिएफको खेल चलिरहेको थियो। सोही समयमा फाइनल खेल ने रोकिने गरि उनी मैदान बाहिर आएर दुव्र्यवहारमा उत्रिएका थिए।
नेपाल भलिबल संघको निरन्तरको खराब ब्यवस्थापनका कारण घरेलु प्रतियोगितामा यस्ता घटना दोहरिदै आएको हो।
खेल हेर्न आएकी आफ्नी श्रीमतीलाई मिडिया जोन (मिडियाकर्मी बस्ने स्थान)मा बस्न नदिएको भन्दै अमृतले पत्रकारमाथि हातपातको प्रयास गरेका हुन्। प्रतियोगिता आयोजनाको खराब ब्यवस्थापनलाई लिएर नेपाल भलिबल संघको आलोचना हुदै आएको थियो।
पछिल्लो समय खेलाडीको अनुशासनहीन क्रियाकलपाबाट राष्ट्रिय खेल भलिबलको गरिमा मात्र घटेको छैन, दर्शक–पत्रकारमाथिनै कुटपिट हुने घटना बाहिर आउन थालेको छ।


