काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको निधन भएको हो।
प्रधानमन्त्रीको सचिवालयले सीताको निधन भएको जानकारी दिएको छ। ‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ की जीवनसंगिनी सीता दाहालको आज बिहान ८:३३ बजे असामयिक निधन भएको छ,’ सचिवालयले भनेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो।
सचिवालयका अनुसार सीताको पार्थिव शरीरलाई ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ। दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ।


