काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बिहीबार आयोजक बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। बंगलादेशले दुई मैत्रीपुर्ण खेलका लागि नेपाललाई आमन्त्रण गरेको थियो। त्यसपछि नेपाली टिम यो खेलको लागि दुई दिनअघि मात्र बंगलादेश पुगेको थियो।
ढाकामा एक दिनको अभ्यास गरेर आज पहिलो मैत्रीपूर्ण खेलमा आयोजक टिमसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल बंगलादेशको राजधानी ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले खेल प्रतिस्पर्धात्मक हुने दाबी गरेका छन।
यसअघि नेपाली सिनियर महिला टिमले बंगलादेशसँग एक पटक मात्र हार बेहोरेको छ। नेपालमै आयोजना भएको साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बंगलादेशसँग ३–१ ले हारेको थियो। पछिल्लो समय बंगलादेश निकै राम्रो फर्ममा रहेको छ।
उसले पहिलो पटक साफको उपाधि जितेको छ भने नेपालले अहिलेसम्म यो उपाधि जित्न सकेको छैन्। त्यो साफपछि नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनको फाइनल पछि पहिलो पटक भिड्न लागेका हुन्।


