काठमाडौँ- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ। योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २० पुगेको छ।
पछिल्लो पटक पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरिएको हो।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले गत असार ११ मा आशिष बुढाथोकीलाई पक्राउ गरेको थियो। तुलाधर र बुढाथोकी अदालतको आदेशपछि पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान भएका छन्। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण हाइफ्रोफाइल हुन्।
काठमाडौँ जिल्ला अदालतमा ३० जनालाई विपक्षी बनाइएको यो पक्ररणमा प्रहरीले यसअघि नै १८ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। उनीहरूमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो।
२०७९ चैत १२ मा गिरोहका नाइके केशव दुलाल‚ सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको थियो। अनुसन्धानका क्रममा रायमाझी र खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परे। रायमाझीका छोरा सन्दीप पनि पक्राउ परी कारागार चलान भएका छन्।
कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि कारागार चलान भएका छन्। खाणका स्वकीय सचिव रहेका नरेन्द्र केसी पनि कारागार चलान भएका छन्।
यो प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध प्रहरीले ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत ५ मुद्दा चलाएको छ। यो प्रकरणमा प्रतिवादी बनाइएकाहरूमध्ये अझैसम्म १० जना फरार छन्।


