काठमाडौं- सरकारले आफूहरूको रकम भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी सडकमा ओर्लिएका छन्। सरकारले टेन्डर आह्वान गर्ने र ठेक्का दिने तर भुक्तानी नगर्ने काम गरेको भन्दै उनीहरुले सडकमा ओर्लिएका हुन्।
शुक्रबार काठमाडौँको माइतीघरमा निर्माण व्यवसायीले धर्ना दिएका छन्। उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन्।
आफूहरूले काम गरेको रकम माग गर्दा सरकारले आफ्नो अंश नै काटेर दिनुपर्ने जस्तो व्यवहार गरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।
‘काम गरेको बिल पेस गर्दा पनि रोकियो । रकम नभएको ४ खर्बको आयोजना किन टेन्डर गराइयो ? स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो?’ उनको प्रश्न छ।













