काठमाडौं – फ्रेन्च फुटबल क्लब पिएसजीमा दुई सिजन विताएका लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग औपचारिक सम्झौता गरेका छन्। ३६ वर्षीय अर्जेन्टाइन स्टार मेसीले एमएसएल क्लब इन्टर मियामीसँग शनिबार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सात पटकका बालेन डी ओर विजेता मेस्सीले सिजन सकिएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेका थिए त्यसपछि उनी इन्टर मियामी जाने बताएका थिए। साउदी क्लबहरुले उनलाई निकै ठूलो अफर गरेको भए पनि उनले साउदी जान भने चाहेनन्।
मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन्। ‘म इन्टर मियामीबाट अमेरिकामा फुटबल करियरको अर्को कदम चाल्नका लागि निकै उत्साहीत छु,’ अमेरिकी क्लबमा अनुबन्ध भएपछि मेस्सीले भनेका छन्।
मियामीका मालिक डभिड बेकह्यामले मेस्सी अनुबन्धनपछि सपना पुरा भएको प्रतिकृया दिएका छन्। मेस्सीले यसअघि युरोप बाहिर खेलेका थिएनन् र पहिलो पटक उनी अमेरिकी क्लबबाट खेल्न लागेका हुन्। उनले यस विषयमा भने, ‘यो उत्कृष्ट अवसर हो र हामी सबै मेलर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ। हामीले स्थापित गरेका लक्ष्य प्राप्तिका लागि संगै मिलेर काम गर्नेछौं। म यहाँ आफ्नो नयाँ घर सुरु गर्नका लागि निकै उत्साहीत छु।’
मेस्सी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलमा नयाँ क्लबको जर्सीमा देखिनेछन्। मेस्सीले पछिल्लो पटक सन् २०२१ मा विश्वको सर्वोत्कृष्ट फुटबलरको अवार्ड प्राप्त गरेका थिए।
उनले पीएसजीमा रहँदा दुई सिजनका ७५ खेलमा ३२ गोल गरेका थिए। पछिल्लो सिजन लिग वानमा १६ गोल गरेका उनले १६ अवसर सिर्जना गरेका थिए। बासीलोनामा सम्झौता नविकरण हुन नसकेपछि मेस्सी सन् २०२१ मा फ्रान्स लागेका थिए। स्पेनिस क्लब बार्सिलोनामा २१ वर्ष बिताएका मेस्सीले फ्रान्सलाई नयाँ गन्तब्य बनाएका हुन्ु।
बार्सिलोनामा मेस्सीले कीर्तिमानी ६ सय ७२ गोल सहित १० लिग उपाधि, चार च्याम्पियन्स लिग र सात स्पेनिस कप जितेका थिए।


