२०८३ कार्तिक ११ गते मङ्गलबार

वैज्ञानिक आविष्कारमा युवा जोस

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ११
astroid (2)
स्किल फेस्टको एस्ट्रोनोमी वर्कसपमा सहभागी सामूहिक तस्बिर खिचाउँदै। तस्बिर: नासो

काठमाडौँ- केही महिनाअघिको कुरा मात्र हो, अन्तरिक्षमा तारा बन्न उद्यत नेबुला भेटिएको खबरले विश्व तातिएको थियो। त्यो नेबुला भेटिनुको पछाडि सानो मेहनत थिएन। वर्षौंको खोज, संघर्ष, ज्ञान र उपकरणको सहयोगले मात्र यस्ता अनुसन्धानले सार्थकता पाउने गरेका छन्।

‘विश्व नै समानान्तर ब्रहमाण्डको खोजमा जुटिरहँदा नेपालमा भने अन्तरिक्षसम्बन्धी खोजको कामलाई खास महत्व दिइँदैन,’ भौतिक विज्ञानका विद्यार्थी सहदेव राईको बुझाइ छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले सञ्चालन गर्ने एस्ट्रोइड सर्च क्याम्पियन (क्षुद्रग्रह खोज कार्यक्रम) मा सन् २०१७ तिर सहभागी बनेका थिए, सहदेव। सुरुमा उनीसँग कार्यक्रममा सहभागी बन्न सामग्री थिएन।

आफ्नो लागि सामान जुटाएपछि क्षुद्रग्रह खोजी कार्यक्रम गाउँसम्म पुर्‍याउने सोचे। तर सिकाउनका लागि सामान अभाव भयो। गाउँको विद्यालयले यस्तो उपयोगी ज्ञानका लागि सहयोग गरेन। ‘मैले विद्यालयकै कम्युटर मागेको थिएँ। त्यो स्कुलका विद्यार्थी सहभागी भएपनि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कम्युटर दिएनन्। बेलका नगरपालिकाभरका ८ देखि १० कक्षामा पढ्ने भाइबहिनीलाई समेत समेटेर मैले यो कार्यक्रम तय गरेको थिएँ,’ नेपाल क्लिक्ससँगको कुराकानीमा उनले भने।

त्यसबेला सहदेवसँग ‘आवर भारापुर’ नामक फेसबुकमा समूह थियो। त्यही समूहमा ‘क्षुद्रग्रह खोज्ने अभियान’बारे जानकारी दिँदै ल्यापटप सहयोग मागे। ‘हाम्रै भाइबहिनीले चलाउने हुन्। केही समयका लागि मात्र हो’ भनेर उनले बुझाउने काम पोस्टबाटै गरे। ‘गाउँमा कोही बुझेका मानिस पनि हुँदा रहेनछ। २–४ जनाले कार्यक्रमको लागि ल्यापटप दिने भए। अनि खोज कार्य सुरु भयो,’ सहदेव सुरुवाती क्षण सुनाउँछन्।

सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको क्षुद्रग्रहको खोजी कार्यक्रम अहिलेसम्म जारी छ। अफसोच अहिलेसम्म उनको समूहले क्षुद्रग्रह पत्ता लागाउन सकेको छैन। अमृत साइन्स क्याम्पसको समूहबाट भने उनले एक क्षुद्रग्रह पत्ता लगाएका छन्।

यता ओसन शर्मा कट्टेलको फरकफरक समूहले भने अहिलेसम्म चार क्षुद्रग्रह पत्ता लगाइसकेका छन्। ‘क्षुद्रग्रह भनेर अनुमान गरेर पठाएको चाहिँ ६० वटा भन्दा धेरै छन्। चार वटा प्रमाणित भइसकेका छन्,’ ओसनले भनेका छन्। पाँच वर्षअघि जब उनी क्षुद्रग्रह खोज्ने अभियानमा जोडिए, उनले कल्पना गरेका थिए, अन्तरिक्षको सुन्दर चित्र।

‘सुरुमा जाँदा कलात्मक ढुंगा जस्तो ‘एस्ट्रोइड’ हेर्ने खोज्ने भन्ने लाग्थ्यो। अन्तरिक्षको फोटो हेर्दा त झिलिमिली बलिरहेको, पछि तारा नै तारा भएको फूलजस्तो देखेको। तर कल्पना एउटा थियो। त्यस्तो विल्कुलै भएन,’ ओसन हाँस्दै अनुभव सुनाउँछन्, ‘विज्ञानमा त्यसरी खोजी र अनुसन्धान नहुने रहेछ। क्षुद्रग्रह त सानो डटजस्तो मात्र देखिन्छ है भनेर भन्नुभयो। हामीले सोचेको चाहिँ आर्टिस्टिक इम्प्रिेसन रहेछ। रियल साइन्स भनेको फरक रहेछ।’

उनले अगाडि भने, ‘सिक्दा नयाँ सफ्टवेयर, नयाँ तरिका। गाह्रो भएको थियो। धेरै अभ्यास गरेको हो। तर अभ्यास गर्दै गएपछि सिकियो जानियो। चार क्षुद्रग्रह पनि पत्ता लगाउन सफल भइयो।’

यसको भविष्य र महत्त्व के छ?
पढ्दापढ्दै क्षुद्रग्रह खोज्न लाग्दा पढाइमा असर गर्दैन? जवाफमा ओसन आफ्नो भन्छन्, ‘यो एकेडेमी बाहिरको कुरा हुँदै होइन। हामीले पढेको कुरा नै ठ्याक्कै अभ्यास गर्ने हो। कम्प्युटर सामान्य सिकाइदेखि अन्तरिक्षको कुरा त्यहाँ सिक्न पाइन्छ। यहाँ त सिकाइको सदुपयोग गर्ने हो। अभ्यास र प्रयोग गर्ने हो। यो झन् मजबुत सिकाइ हो।’

‘ए यस्तो हुने रहेछ विज्ञान। यो रहेछ सिटिजन साइन्स। यो रहेछ रियल साइन्स भनेर उनीहरुले थाहा पाइन्छ,’ सहदेवले अगाडि भने। तर खोजमा सरकार अनुदार बन्दा विद्यार्थीले प्ररेणा पाइरहेका छैनन्। प्रेरणा दिएर सिकाइरनु परेको छ।

कुनै पनि सिकाइको भविष्यको पनि त खोजी हुन्छ। यो खोजको भविष्य के छ? ‘हामीले चाहिँ यो काम सेनाले झैं गरिररहेका छौं। किनभने यो क्षुद्रग्रह भनेको पृथ्वीलगायत अन्य ग्रहहरुको विपत्ति पनि हुन्। उनीहरु पृथ्वीको गुरुत्वक्षेत्रभित्र आए भने ठूलो विनाश हुन सक्छ,’ ओसनले भनेका छन्।

क्षुद्रग्रह खोज कार्यक्रममा नासो अध्यक्ष सुरेश भट्टराई विद्यार्थीलाई प्रशिक्षण दिँदै।

पृथ्वीमा आइपर्न सक्ने धेरै विपत्तिमध्ये यो सबैभन्दा ठूलो भएपनि यसको कुरै नहुने सहदेव बताउँछन्। ‘पृथ्वीमा एस्ट्रोइड आयो भने त आइहाल्यो। कसरी रोक्ने? त्यो रोक्न र आउँछ भन्ने थाहा पाउनको लागि पनि चिन्नु त पर्यो नि। यो के हो? कहाँ रहन्छ? कता गइरहेको छ? सबै थाहा पाउनु पर्ने। यसलाई चिन्नु पर्यो,’ उनले थपे, ‘त्यो काम हामीले गरिररहेका छौं, त्यो पनि घरमै बसेर गाउँमै पढेर वा अरुकै ल्यापटप खोजेर भए पनि हामीले त्यो काम गरिरहेका छौं।’

यो कामको फाइदा कुनै एक व्यक्ति, संस्था वा देशका लागि मात्र होइन, पृथ्वीकै लागि हो। केही समयअघि नासाको डार्क मिसनले ‘क्यालेस्टियल हजार्ड’ पत्ता लगाएर डिफ्लेक्ट गराएको थियो। हो, त्यस्तो पत्ता लगाउने मिसनको अभिन्न पाटो हो क्षुद्रग्रह खोज।

‘हामीले गरेको काम पनि त्यो नै हो। खोजेकै छैन भने त कहाँ आउँछ? के आउँछ? कसरी आउँछ? थाहा हुन्छ त? हुँदैन नि! थाहा नभएपछि कसरी सुरक्षा दिने भन्ने हुन्छ,’ सहदेव आफूले गरिरहेको कामबारे बताउँछन्।

ओसनका अनुसार ‘एस्ट्रोइड सर्च क्याम्पेन’लाई नासाले ‘प्लनेटरी डिफेन्स सिस्टम’अन्तर्गत राखेको छ। ‘यो खोजी एक प्रकारले पृथ्वीलाई बचाइराख्ने प्रयास पनि हो नि,’ उनले भने।

कहाँ र कसरी खोज्न सकिन्द्र क्षुद्रग्रह?
अमेरिकाको हवाइमा पान्सका टेलिस्कोप छ। त्यसले एक घण्टामा रात्रि आकाशको चार फोटो (१५-१५ मिनेटको फरकमा) खिच्छ। एस्ट्रोमेटिकामा फोटो डट फिआईटिएस(फिट्स) फर्म्याटमा हुन्छ। त्यसमा तस्बिरबारे सबै सूचना लेखिएको हुन्छ। कसले खिचेको, कताको र कुन कोणमा खिचेको, अक्षांश र देशान्तर के कसो छ, कति समयमा र कुन आकाशतिर पोइन्ट गरेर खिचेको सबै आउँछ। त्यो फोटोमा तारा ग्रहहरु त एकैठाउँमा अडिएको देखिन्छ। क्षुद्रग्रह चाहिँ छिटोछिटो ठाउँ सरिरहन्छन्। छोटो समयमा लामो दुरी तय गर्छन्।

एक घण्टामा खिचेको चार फोटोमा अरु आकाशीय पिण्ड एकै ठाउँमा हुन्छन्, क्षुद्रग्रह चाहिँ घुमिरहेका हुन्छन्। चार फोटोमा क्षुद्रग्रहको अवस्थिति फरक फरक हुन्छ। एउटा फोटोमा एक ठाउँमा भएको क्षुद्रग्रह १५ मिनेटपछि सरेको देखिन्छ। ‘हामीले त्यो देख्यौँ भने एस्ट्रोमेटिका (क्षुद्रग्रह खोज्न प्रयोग गरिने सफ्टवेयर) मा ब्लिङ्क(पिलपिल) गराउछौँ। अनि यस्तो देखियो है भनेर रिपोर्ट गर्छौं,’ ओसनले भने।

सफ्टवेयरमा वास्तविक समयको तथ्यांक हुन्छ। त्यसलाई जाँच्नुपर्छ- रियल टाइम नाइट स्काइको तथ्यांक छ भने त्यो समयमा फोटो लिएको क्षेत्रमा एस्ट्रोइड आएको छ भने भेट्ने सम्भावना भयो। कहिलेकाहीँ नपरेको/नआएको पनि हुन सक्छ। खोज्दा नदेख्न वा छुटाउने पनि हुन सक्ने भयो। कामप्रति समपर्णमा र कहिलेकहिले संयोगको कुरा पनि भयो, यसलाई भाग्य भन्न पनि सकियो।

यो खोज एक प्रकारको टिमवर्क हो। किनभने त्यहाँ विभिन्न इमेज सेट हुन्छ, सहभागी सबै सेट भाग लगाएर खोज गरिन्छ। अनि समग्रमा एक प्रतिविदेन तयार गरिन्छ। फोल्डरमा फोटोको समूह तोकिएको हुन्छ। आफ्नो नाममा भएको फोल्डर एसेप्ट गरेर हेरेर रिपोर्ट बनाउनुपर्ने हुन्छ। फोटोमा सफ्टवेयरले नै नचिनिएको वस्तु भनेर राखिदिएको हुन्छ, हामीले क्षुद्रग्रह हो वा होइन भनेर पत्ता लगाउनु पर्‍यो। त्यो वस्तु क्षुद्रग्रह नभएर अर्को कुनै कुरा पनि हुन सक्छ। त्यसैले त्यहाँ जिज्ञासा भने धेरै हुन्छ।

पहिले पत्ता लगाइसकको वस्तुमा चाहिँ घेरा लागेर आउँछ। त्यहाँ तारा, ग्रहलगायत पनि देखिन्छ। तर एनिमेसन गरेको चित्रजस्तो, आकर्षक हुँदैन, श्यामश्वेत हुन्छ। त्यहाँ ‘ग्लिच’ पनि भेटिन्छ। ‘ग्लिच भेटिएपछि ‘ओहो! ल क्षुद्रग्रह भेटियो’ भनेर रमाइन्छ, कहिले हुन्छ त कहिले हुँदैन। दोधार पनि हुन्छ। ध्यान दिएर हेर्नु पर्छ। भेटियो भने चाहिँ त्यसलाई ब्लिंक गराएर पठाउनु पर्छ,’ कटेलले भने।

सफ्टवेयरमा ठूलो फोटो हुँदा ताराको डिफ्राक्सन स्पाइक देखिन्छ। त्यस्तो हेर्न रमाइलो पनि लाग्छ। कति ठूलो तारा रहेछ भन्ने लाग्छ। एसएनआर (सिग्नल टू नोइज रेसियो। सिग्नलले आवाजलाई भाग गरेपछि आउने अनुपात) बाट तारा ठूलो भन्ने थाहा हुन्छ। त्यसैको आधारमा एउटा रियल मुभिङ अब्जेक्ट (हिँडिरने वस्तु) थाहा हुन्छ। खोजको पहिलो चरण यसरी सकिन्छ।

कम्प्युटरको सहयोगमा क्षुद्रग्रह खोज्दै विद्यार्थी। तस्बिर : नासो

अब फेरि त्यही वस्तु अर्को सात देखि १० दिनमा देखा पर्‍यो भने त्यो प्रारम्भिक खोज अन्तर्गत पर्छ। अनि त्यसमा थप अनुसन्धान हुन्छ। यो साँच्चै एस्ट्रोइड रहेछ भने त्यो ‘प्रोभिजनल डिस्कभरी’(अस्थाई आविष्कार) मा पर्छ। क्षुद्रग्रह पत्ता लगाएपछि प्रोभिजनल डिस्कभरीका रूपमा मान्यता पाउन छ–सात महिना लाग्छ। कहिले त्यो भन्दा धेरै पनि लागिरहने गरेको ओसन बताउँछन्।

स्थायी आविष्कारको मान्यतापाएको ६/७ वर्षमा पत्ता लगाउने टिमले नामकरण गर्ने अवसर पाउँछ। ‘हामीले अहिलेसम्म नामकारण गर्ने अवसर पाएको छैनौँ,’ ओसनले भने, ‘मैले पत्ता लगाएको डेढ वर्ष भयो। अझै पाँच वर्षपछि नामकरण गर्ने अवसर मिल्ला। हामीले त्यसलाई ‘विराटनगर’ नामकरण गर्ने भनेर सोचेका छौं।’

ओसनले सन् २०१८ देखि काम थालेका हुन्। तीन वर्षपछि मात्र क्षुद्रग्रह पत्ता लगाउन सफल भए। त्यसैले उनलाई लाग्छ यो खोज धैर्यको चिज हो। ‘कहिलेकाहीँ त यो हुने रहेनछ छोडिदिम् कि क्याहो भन्ने पनि लाग्ने रहेछ,’ उनले भने।

नगर बाल क्लबबाट खोजको अभियान सुरु गरेको धेरै समयपछि भएपनि प्रोभिजनल भने आइसकेकोले ओसनलाई खुसी लागेको छ। भन्छन्, ‘पढ्दै गर्दा खेरी कुनै डिस्कभरी भयो। अब पाँच वा दश वर्षपछि त्यसको नाम राख्दै गर्दा नेपालको मानिसले पत्ता लगाएर नाम राखेको भनेर देशको लागि गौरवको विषय हुन्छ नि!’ विराटनगरको टिमले नाम जुराए पनि पत्ता लागेका बाँकी क्षुद्रग्रहको भने नामबारे सोचिएको छैन।

विद्यार्थीको लागि यो कार्यक्रम एक महिनाको हुन्छ। दिनमा एक घण्टा दिने हो भने पनि यसमा काम गर्नको लागि पर्याप्त हुन्छ। एउटा टिमको लागि फोल्डरमा पूरा ३० सेट आउँछ। त्यो पनि हप्तामा चार/पाँच ओटा आउँछ। त्यसरी सँधै समय पनि दिनु पर्दैन। दिनको एकाध घण्टा पनि पर्याप्त समय हो। ‘हामी यो काममा पर्याप्त समय खटिन्छौं। यसले हामीलाई सामूहिक काम कसरी गर्ने भन्ने पनि सिकाइरहेको छ,’ ओसनले भने। १३ मार्चदेखि नयाँ खोज कार्यक्रम सुरु भएको छ।

खुसी र दुःख सँगसँगै
हरेक पालिकामा जस्तै विराटनगरमा पनि बाल क्लब छ। त्यसको टिमले पत्ता लगायो क्षुद्रग्रह। टिमले नै नाम राख्ने अवसर पाएपछि ओसनको टिमले मेयरलाई विस्तारपूर्वक ब्रिफिङ गर्‍यो। यो त महानगरको लागि नै गर्वको कुरा थियो। त्यसैले विराटनगर नामकरण गर्ने निर्णय भयो। सहरको पनि प्रवर्द्धन हुने भएपछि मेयरले महानगरद्वारा टेलिस्कोप उपहार दिए। त्यो टेलिस्कोप अहिले सबैका लागि खुल्ला छ।

‘केही विद्यार्थीले गरेको कामलाई आज मेयरको ध्यान खिचेको छ। त्यो बीचमा म रोकिएको भए दुई/तीन वर्षसम्म टेलिस्कोप आउँदैन थियो। मनमा त्यो कुराले सन्तुष्टि दिएको छ,’ ओसन भन्छन्।

स्पेस रोबोटिक्समा सहभागीलाई तस्बिर प्रदान गरिँदै। तस्बिरः नासो

क्षुद्रग्रहको खोजीमा दिक्क लाग्दैन, बरु रमाइलो हुने सहदेव बताउँछन्। उनले नासोको सहयोगमा गाउँमै क्याम्प चलाउन डेटलाइन पाएका थिए।
‘रिमोट एरियामा पनि कसरी यो कार्यक्रम गर्न सकिन्छ भनेर अभ्यास गरेका छौँ। गाह्रो हुने रहेछ। तर गर्न नसकिने भने होइन। सुरुमा मैले उनीहरुको माइन्डसेट कस्तो रहेछ भन्ने बुझेँ। भौतिक विज्ञान मन पराउने, खगोलशास्त्रमा रुचि राख्नेहरू गाउँमा पाएँ। गर्ने हो त भनेर सोधेँ,’ उनले विगत सम्झिँदै भने। केही विद्यार्थीमा देखिएको ‘जुनुन’लाई उनले क्षुद्रग्रह खोजमा लगाउने सोच बनाए। भोलिपल्ट क्षुद्रग्रह खोजको ट्रेनिङ सुरु गर्न लाग्दा पनि उनीहरुसँग एकै थान पनि कम्प्युटर थिएनन्। उनीहरु खोजिरहेका थिए।

एक साँझ झरी परिरहेको थियो। सानो टर्च बोकेर सहदेवले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको ठाउँमा पुगे। ‘ तिमीहरुले बिगार्लाउ, फेरि स्कुलको बाहेक अरुलाई चलाउन दिन मिल्दैन,’ अध्यक्षले भनेको कुरा सहदेव सम्झन्छन्।

भोलिपल्ट कम्युटर पाउने आश्वासन पाएका उनीहरूले स्कुलको आन्तरिक राजनीतिका कारण कम्प्युटर पाएनन्। सोही विद्यालयका शिक्षक समितिको अध्यक्षले चाहिँ सहयोग गर्न स्कुललाई अपिल गरेका थिए। ‘जसरी भए पनि स्कुलले दिन्छ भन्नु भएको थियो। तर स्कुलले त्यो कामको लागि कम्प्युटर नै दिएन,’ क्षुद्रग्रह खोज्ने अभियानको सुरु ताका सहदेवको गाउँमा अनुभव यस्तो थियो।

उनले फेरि नासोलाई थप समय मागे। फेरि गाउँमा हल्ला गरे। भेटेकालाई खबर गरे, फेसबुकमा सूचना लेखे, सबैलाई जानकारी दिए। त्यसपछि गाउँका केही मानिसले ल्यापटप दिए र कार्यक्रम गाउँमा पनि सञ्चालन गरे। अहिले पनि त्यहाँका पाँच जना विद्यार्थीले क्षुद्रग्रह खोज्ने काम गरिरहेका छन्।

‘यी सबै घटनापछिको खोजमा ‘प्रिलिमिनरी डिस्कभरी’ आइरहेको नै छ। प्रोभिजनल आउँदा अझै राम्रो हुन्छ भन्ने लागेको छ। नगरपालिकास्तरमा हामीले कार्यक्रम लैजान सकियो भने र सहकार्य गरेर विद्यार्थीलाई अध्ययन गराउन सकियो भने राम्रो हुन्छ र खुसी लाग्छ,’ सहदेवले भनेका छन्।

नेपालमा सिटिजन्स साइन्स कार्यक्रम र प्रभाव
अमृत साइन्स क्याम्पसमा बीएस्सी दोस्रो वर्ष पढिरहेको हो ओसन नेपाल एस्ट्रोनोमिक सोसाइटी(नासो) का अन्डर ग्राजुएट मेम्बर हुन्। नासोसँग २०१८ मा सम्बन्ध जोडिएपछि उनी क्षुद्रग्रह खोजमा लागेका थिए। नासोले क्षुद्रग्रह पहिचान कार्यक्रम देशव्यापी गरिरहेको समयमा मोरङको सुन्दरहरैँचामा उनले यसबारे सिक्न पाएका थिए। त्यतिबेला उनी १२ मा पढ्दै थिए, अहिले यहीँ मेन्टर भएर सिकाइरहेका छन्।

यो कार्यक्रमलाई ‘सिटीजन्स साइन्स प्रोग्राम भनिन्छ। यो कार्यक्रममा पैसा, उमेर केही पनि हेरिँदैन। बस् समय दिन सके पुग्यो। वैज्ञानिक अनुसन्धान कसरी गरिन्छ भनेर सामान्य मानिसलाई पनि थाहा होस् भनेर यस्तो कार्यक्रम सुरु गरिएको हो।

‘हामीले अहिलेसम्म नामकारण गर्ने अवसर पाएको छैनौँ,’ ओसनले भने, ‘मैले पत्ता लगाएको डेढ वर्ष भयो। अझै पाँच वर्षपछि नामकरण गर्ने अवसर मिल्ला। हामीले त्यसलाई ‘विराटनगर’ नामकरण गर्ने भनेर सोचेका छौं।’

‘उहाँ (सुरेश भट्टराई, नासो अध्यक्ष)को टिमले कसरी खोज्ने भन्ने सिकाउनु भयो। त्यो क्याम्पमा मैले क्षुद्रग्रह कसरी खोज्ने भन्ने सिकेँ। त्यसपछि क्षुद्रग्रहको प्रारम्भिक खोजसम्म पुगेको हो,’ ओनसले भने। यो कार्यक्रम नासोले नेपालभर इन्टरनेसनल एस्ट्रोइड सर्चसँग सहकार्यमा आयोजना गर्ने गरेको छ।

सन् २०१७ मा उच्च शिक्षाका लागि सहदेव विराटनगर गए। तरहरामा भएको क्याम्पमा उनी २०१९ देखि सहभागी बने। तर लगातार खोजको अभियानमा लागेनन्। तर २०२१ देखि फेरि सुरु गरे। अहिले पनि खोज गरिरहेकै छन्। उनले गाउँको टिमबाट प्रोभिजनल पाउन नसके पनि अमृत साइन्स क्याम्पसको टिमबाट भने एक क्षुद्रग्रह पत्ता लगाएका छन्। ‘अमृत साइन्स क्याम्पसको नामबाट एउटा प्रोभिजनल आएको छ,’ उनले भने।

केही समयअघि अमेरिकाबाट अन्तरिक्ष विज्ञानका अनुसन्धानकर्ता होबर्ट हम्पिन्स नेपाल आएका थिए। नेपालमा १५ वर्षभन्दा मुनिका विद्यार्थीले खोजिरहेको छ भनेर थाहा पाउँदा उनी खुसी भएको नासोमै आवद्ध मनिषा द्वा बताउँछिन्। नेपालका विद्यार्थीले उनलाई आफ्नो कामको भविष्यबारे र खगोलविज्ञानबारे विभिन्न प्रश्न सोधेका थिए। नेपालका विद्यार्थीले पनि स्तरीय खोज र प्रश्न गर्न सक्छ भन्ने उनलाई परेको थियो। ‘हामी केही स्कुलसँग सहकार्य गरेर यो कार्यक्रमलाई अघि बढाउने सोचिरहेका छौं। यहाँबाट डिग्री लिएर धेरै योगदान गर्न सकिन्छ भनेर देखाउन चाहन्छौं,’ मनिषाले भनिन्।

कार्यक्रमको लागि नासोले केही संख्यामा मात्र विद्यार्थी भए पनि धेरै मेहनती विद्यार्थी पाएको छ। यो कार्यक्रम पहिले सफ्टवेयरबाटै गरिन्थ्यो। आजभोलि मानिसले नै गर्छन्। सफ्टवेयरले भन्दा मानिसले गर्दा धेरै प्रभावकारी भएको कारण मानिसहरू तयार भएका हुन्। मानिसले खोज्दा धेरै एस्ट्रोइड पत्ता लाग्न थालेपछि आजभोलि सफ्टवेरले यो काम गर्दैन। तर सबै इमेज सेटमा क्षुद्रग्रह भेटिन्छ भन्ने हुँदैन। कुनै कुनैमा केही पिण्ड नै नहुन पनि सक्छ।

कामलाई नीति निर्माण तहसम्म पुर्‍याउने इच्छा
हाम्रो देशमा सामान्य किसिमको विज्ञान पार्क पनि छैन। त्यस्तोमा ‘एस्ट्रोनोमी अब्जरभेटरी’को आकांक्षा अलि परकै कुरा भयो। यस्तो अवस्थामा घरमै बसेर क्षुद्रग्रह खोज्न सकिने बन्नु त विज्ञान स्वयम् घरमा छिरेजस्तै भएको सहदेव बताउँछन्।

विद्यार्थी उमेरमै गरिने क्षुद्रग्रह खोजले व्यावसायिक क्षेत्रमा पनि प्रवर्द्धन गरिरहेको र यसमा करिअर बनाउन ठीक छ कि छैन भनेर परीक्षण गर्ने मौका पनि भएको छ। सँगसँगै नगर बाल क्लबबाट पत्ता लगाएको कुरालाई उनीहरूले ‘विराटनगर’ नाम राख्ने भनेका छन्। त्यो भयो भने स्थानीय तहको नामबाट क्षुद्रग्रहको नाम पनि रहन्छ र अन्तरिक्षबारे ठूलो काम गर्नुपर्ने रहेछ भन्ने ज्ञान नीतिनिर्माण तहमा बसेका मानिसलाई लाग्छ।

‘खगोलमा काम गर्न पर्ने रहेछ भनेर उनीहरुलाई बोध पनि होला भन्ने सोचेका छौं,’ ओसनले भने, ‘अहिले केही काम भइरहेको छ। यसले अलिअलि सहयोग गर्छ। अहिले सहभागीले पनि आफ्नो क्षेत्रको प्रवर्द्धन हुने गरी नामकरण गरेर यसलाई स्थानीयको ध्यान केन्द्रित गर्छ भन्ने लागेको छ।’

केही समय अघि मात्र मेक्सिकोका एक युवाले क्षुदग्रह पत्ता लगए भनेर त्यहाँ ठूलो समाचार बनेको थियो। तर नेपालमा यो कुरा सामान्य रुपमा लिइन्छ। नेपालकै मानिसले पत्ता लगाउँदा चाहिँ यही कुरालाई सामान्यीकरण गरिन्छ। ‘काम नेपालमा भयो भने चाहिँ ए यो त सजिलो रहेछ, जसले पनि सक्ने रहेछ भनेर वास्तै नगर्ने। त्यही काम विदेशीले गर्‍यो भने चाहिँ वाहवाही गर्ने संस्कार नेपालीमा रहेछ,’ सहदेव अनुभव सुनाउँछन्।

प्रकाशित: २०७९ चैत ११ गते शनिवार ०४:४९
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना