काठमाडौं– सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि मुख्यालय सानेपामा बस्दै छ। एक वर्षपछि मंगलबारबाट सुरु भएको बैठकमा सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीबाट पारित १० बुँदे एजेन्डामाथि रहेर केन्द्रीय समिति सदस्यले आ–आफ्ना भनाइ राख्नेछन्।
१० बुँदे एजेन्डालाई सोमबार नै धुम्बाराहीमा बसेको पूर्व र वर्तमान कांग्रेस पदाधिकारी बैठकले पारित गरेर केन्द्रीय समिति बैठकमा छलफल चलाउने निर्णय भएको थियो।
हिजोको बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, मुख्य सचेतक रमेश लेखक, पार्टी उपसभापति पूर्णबहादुर खड्का, निर्वाचन समिति संयोजक गोपालमान श्रेष्ठ, अनुशासन समिति संयोजक आनन्द ढुंगानाले संगठन सञ्चालन, सांगठनिक प्रारुप, पार्टी गतिविधिलगायतबारे सदस्यलाई जानकारी गराएका थिए। हिजोबाट सुरु भएको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेबाट बस्ने कार्यसूची रहेको कांग्रेस मुख्यालयले जनाएको छ।
आजबाट केन्द्रीय सदस्यले १० बुँदेमाथि अडिएर आ–आफ्ना धारणा राख्नेछन्। बैठकको पहिलो दिन हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री थापाले वार्षिक कार्यतालिका प्रस्तुत गरेका थिए।
यसैगरी निर्वाचन समिति संयोजक श्रेष्ठ र अनुशासन समिति संयोजक ढुंगानाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख सचेतक लेखकले संसद्मा पार्टीको प्रस्तुति र उपसभापति मन्त्री खड्काले सरकारका काम–कारबाहीबारे सदस्यलाई अवगत गराएका थिए। कांग्रेसले पहिलोपल्ट फेसबुक पेजमार्फत बैठकका गतिविधि लाइभ गरेको थियो।


