चितवन- पशुचौपायमा देखिएको लम्पिस्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन। सङ्क्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो।
पछिल्लो समय चितवनका सात पालिकामा नौ हजार पाँच सय ४१ पशु चौपाय प्रभावित भएका छन्। तीमध्ये ९ हजार दुई सय पाँच गाई र तीन सय ३६ भैँसी छन्। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्याङ्क रहेको छ। तीमध्ये ६ हजार पाँच सय ३९ गाई र दुई सय ६० भैँसीमा यो रोगको सङ्क्रमण देखिएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हाल सम्म यस रोगका कारण दुई सय २९ वटा गाई मरेका छन्। सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम कालिका र खैरहनी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिए।
उनका अनुसार इच्छाकामना गाउँपालिकामा ६५ , भरतपुर महानगरपालिकामा ३५, राप्ती नगरपालिकामा ६२ , रत्ननगर नगरपालिकामा ३५ , कालिका नगरपालिकामा १० , खैरहनी नगरपालिकामा १० र माडी नगरपालिकामा १२ वटा गाई मरेका हुन्।
जिल्लाका तीन पालिकामा पालिएका १८ हजार ४० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ। भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, रत्ननगर नगरपालिकामा आठ हजार दुई सय ५० र राप्ती नगरपालिकामा छ हजार गाईभैँसीमा खोप दिइएको उनले बताए। विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरिएको छ। अन्य पालिकामा जैविक सुरक्षा अपनाउने र अन्य उपचारको काम भई रहेको कार्यालयले जनाएको छ।
पछिल्ला दिनहरुमा खोप लगाउने पशुपालक किसानको सङ्ख्या बढ्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो। जिल्लामा पालिएका पशु चौपायामा ७० प्रतिशतलाई खोप लगाए पछि मात्रै नियन्त्रण उन्मुख हुने उनको दाबी छ। ‘अहिलेनै नियन्त्रण उन्मुख भन्न मिल्दैन,’ उनले भने, ‘पहिलेको तुलनामा सङ्क्रमण दर कम भए पनि रोग देखिने क्रम रोकिएको छैन।’
गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको जोसखम देखिने गरेको उनले जानकारी दिए। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ।
यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ। सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ। यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने पशु विकास अधिकृत आचार्यले बताए।


