काठमाडौं– नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरी आज ४१औं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निरंकुश पारिवारिक राणातन्त्र र पञ्चायती निरंकुश राजतन्त्रविरुद्ध अनवरत् संघर्ष गरेका बीपी नेपालमा मात्र नभई विश्व लोकतन्त्रका लागि परिचय थिए।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका बीपीको निधन आजकै दिन ६ साउन २०३९ मा भएको थियो। बीपीको जन्म २४ भदौ १९७१ मा भएको थियो। २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा बीपी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ को आमनिर्वाचनमा पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए।
१ पुस २०१७ मा तत्कालीन शाही नेपाली सेनाको बलमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरिएपछि बीपीलगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । १ महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो। २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका बीपीले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए।
भारतमा निर्वासित भइरहेको समय राष्ट्रियता कमजोर भन्ठानेर प्रजातन्त्रका लागि संघर्ष गर्ने अठोटसहित पञ्चायती शासनका ८ वटा ज्यान मुद्दाको पर्वाह नगरी १६ पुस २०३३ मा बीपी राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए। सानदाजुका नामले समेत चिनिने बीपीलाई त्यतिबेला लिएको मेलमिलापको नीतिलाई आज पनि स्मरण गर्ने गरिएको छ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक बीपीका डेढ दर्जन कृति प्रकाशित छन्। उनका तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, एवं बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित छन्। २ कथा संग्रह श्वेत भैरवी र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन्।
