सरकारको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भई गत बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको ५ जनामध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन्।
मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा पदोन्नति भएका थिए।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि रिक्त हुने आईजीपी पदमा हाल पदोन्नति भएका एआईजीबाटै बढुवा गर्नुपर्ने भएकाले अब पाँच एआईजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउनेछन्।
काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आईजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन्।
‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई।’
पछिल्लो समयमा गृह मन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ। सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आईजीपी बनाउनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन्।
सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो। प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आईजीपी बनाउनसक्ने उल्लेख छ।
यही चैत १० मा आईजीपी धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआईजी पनि अनिवार्य अवकासमा जाँदै छन्। सिंहकै ब्याची एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन्। हाल बढुवा भएका एआईजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआईजीको पद पुनः रिक्त हुन्छ।
हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआईजीमा डीआईजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।
चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा २०८१ चैतसम्मको रहनेछ। यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्काे आलोचनासमेत हुने गरेको थियो।
पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन्। गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले एआईजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ।
एआईजीमा पदोन्नति भएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वाेच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुन्।
यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन्।
बज्राचार्यसँगै डीआईजीमा बढुवा भएकी मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआईजी बढुवामा नै पछि परेकोले महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन्।


