काठमाडौं – पृथ्वीको दक्षिणी गोलार्धमा पहिलो पटक भइरहेको फिफा महिला विश्वकपअन्तर्गत आइतबारको खेलमा स्विडेन र नेदरल्यान्ड्सले जित निकालेका छन्। विलिङ्टन क्षेत्रीय रंगशालामा भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकामाथि २-१ को पुनरागमन जित निकालेको हो।
खेलको पहिलो हाफ गोलरहित भए पनि ४८ औं मिनेटमा हिल्दाह मगाइदाले अग्रता बनाएकी थिइन्। आजको खेलमा मात्र नभएर समग्र अफ्रिकन देशले नै जारी विश्वकपमा गरेको यो पहिलो गोल थियो। यसअघि हाइटी र नाइजेरियाले गोल गर्न सकेका थिएनन्।
तर खेलको ६५ औं मिनेटमा प्रिदोलिना र अन्तिम मिनेटमा अमान्डा इलेस्टेडले गोल फर्काउँदै स्विडेनलाई जित दिलाएका थिए। जारी महिला विश्वकपमा यो पहिलो खेल बन्यो जसमा दुवै टिमले गोल गरे। यसभन्दा अघिका खेलमा जित्ने टिमले मात्र गोल गरेका थिए।
यो जितसँगै स्विडेन समूह जीको शीर्षस्थानमा छ।
आजै भएको अर्को खेलमा भने नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलअन्तरले हराएको छ। स्टेफिना भान डर गार्टले खेलको १३ औं मिनेटमा बनाएको अग्रतालाई जोगाउँदै नेदरल्यान्ड्ले जित निकालेको हो।
यो जितले नेदरल्यान्ड्सलाई समूह इ को दोस्रो स्थानमा पुर्याएको छ। शीर्षस्थानमा भने संयुक्त राज्य अमेरिका रहेको छ। समूहमा भियतनाम र पोर्चुगल भने अंकविहिन छन्।


