काठमाडौं – श्रीलंकामा आइतबार राति सम्पन्न एसीसी मेन्स इमर्जिङ एसिया कपमा भारत ए लाई फराकिलो अन्तरले हराउँदै पाकिस्तान ए लगातार दोस्रो पटक च्याम्पियन बनेको छ।
श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट रंगशालामा भएको खेलमा भारतलाई १ सय २८ रनले हराउदै पाकिस्तान च्याम्पियन भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो। पाकिस्तान ए ले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा भारत ए ४० ओभरमा २ सय २४ रन बनाउदै अलआउट भयो। यससँगै पाकिस्तानको ए टिमले फराकिलो जित निकालेको हो।
पाकिस्तान ए का लागि तैयव ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १ सय ८ रनको शतकीय पारी खेलेका थिए। लिस्ट ए मा चौथो शतक प्रहार गरेका ताहिरले ६६ बलमा पूरा गरेका थिए।
पाकिस्तान ए ले १ सय २१ रनमा मात्र पहिलो विकेट गुमाएको थियो। उसका दुवै ओपनरले अर्धशतकीय ईनिङ खेलेका थिए। ओपनर सैब अयबले ५१ बलमा ५९ रन बनाउँदा अर्का ओपनर सहबाज फरहामले ६२ बलमा ६५ रन बनाएका थिए।
मुबासिर खानले ४७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए। ओमिर युसुफ ३५ बलमा ३५ रन बनाउँदै आउट भए।
भारत ए का लागि रियान पराग र राजवद्र्धन हङ्गेरकरले समान २र२ तथा हर्षित राना, मानव सुतार र निसान्त सिधुले समान १र१ विकेट लिए।
जवाफमा भारत ए का लागि ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६१ रनको अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
कप्तान यश धुलले ४१ बलमा ३९ तथा रियान परागले १४ रन बनाए। ओपनर साई सुदर्शनले २८ बलमा २९ रन बनाए।
पाकिस्तान ए का लागि सोफियान मुकिमले ३ तथा मोहम्मद वासिम जुनियर, मिहरम मुम्ताज र अर्सद इक्बालले समान २र२ विकेट लिए।
पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। यस अघि २०१९ मा भएको पछिल्लो संस्करण समेत पाकिस्तानले जितेको थियो। प्रतियोगितामा नेपाल पनि सहभागी बनेको थियो तर भारत र पाकिस्तानसँग हार बेहोरेर नेपाल समूह चरणबाटै बाहिरिएको थियो।


