पोखरा– फेवाताल प्रदूषणको एउटा कारण फिर्केखोलाले बगाएर ल्याउने फोहोर पानी पनि हो। फिर्केमा सहरको फोहोर र ढल मिसिन्छ र त्यही फेवातालसम्म पुग्ने गरेको छ।
खोला तालमा पुग्ने भएकाले फोहोर छेक्न बाँध बाँध्ने ताल संरक्षण तथा विकास प्राधिकरणको योजना थियो। फिर्केमा बाँध बाँध्न प्राधिकरणसँग ५० लाख रुपैयाँ बजेट पनि थियो। तर प्राधिकरणले त्यो पैसा खर्च गर्न नसकेपछि बजेट सरेन्डर गरेको छ।
फिर्केखोलामा बग्ने फोहोर र बाढीले फेवाताल पुरिनबाट जोगाउन गण्डकी प्रदेश सरकारले आव २०७९/८० मा उक्त ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर प्राधिकरणले बाँध निर्माण गर्न त परै त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि बनाउन सकेन। प्रदेश सरकारबाट बाँध निर्माणका लागि बजेट विनियोजन भएको थियो।
बाँध निर्माण गर्न भनेर माटो परीक्षणमा २ लाख २६ हजार ६ सय २१ खर्च रुपैयाँ खर्च गरेको प्राधिकरणकी कार्यकारी निर्देशक कल्पना देवकोटा बताउँछिन्। पोखरा ८ मा रहेको बाराही टेक्निकल सोलुसन प्रालिले २०८० वैशाख ७ गतेदेखि २१ गतेसम्म दुई हप्ता लगाएर माटो परीक्षण गरेको हो। उसले माटो परीक्षणको रिर्पोट वैशाख २४ मा प्राधिकरणमा उपलब्ध गराएको थियो।

‘माटो परीक्षणको प्रतिवेदनअनुसार उक्त स्थानमा फाउन्डेसन निर्माण गर्न मिल्ने देखिन्छ,’ देवकोटाले भनिन्। आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा माटो परीक्षण सुरु गरेको प्राधिकरणले कार्यालयमा विषयगत दक्षता भएका प्राविधिक जनशक्ति उपलब्ध नभएको र समयसीमाको कारण देखाउँदै डिपिआर समेत बनाउन नसकेको हो।
डीपीआरका लागि ५ लाख रुपैयाँ छुट्याइएको थियो। प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० का लागि ताल संरक्षण तथा विकास प्राधिकरणमा सूचना प्रकाशन तथा प्रशारणका लागि छुट्याइएको खर्च शीर्षकको रकम ५० हजार रुपैयाँसमेत ताल प्राधिकरणले खर्च गर्न सकेन।
आर्थिक वर्षको अन्तिम महिना असार मसान्तसम्म पनि सो रकम खर्च नगरी फ्रिज भएको प्राधिकरणका सूचना अधिकारी तथा कार्यक्रम अधिकृत महेन्द्रकुमार मण्डलले जानकारी दिए। माटो परीक्षण प्रतिवेदन पश्चात परामर्शदाता फर्महरुबाट लिखित प्रस्तावना पेस गर्न जेठ ४ गते ७ दिनको म्याद राखी प्राधिकरणले पत्राचार गरेको थियो। प्रस्तावदाताबाट कार्यक्रम गर्न नसक्ने व्यहोराको लिखित पत्राचार प्राप्त भएको प्राधिकरणले जनाएको छ। समय अपुग हुने भएकाले जेठ ११ गतेको निर्णय अनुसार कार्यक्रम स्थगित गरिएको प्राधिकरणले जनाएको छ।
फेवाताल किनार गाईघाटस्थित फिर्केखोलामा बाँध निर्माण गर्न बजेट खर्चन नसकेपछि प्राधिकरणले ४२ लाख ७० हजार रुपैयाँको बाँध निर्माण कार्यक्रम समर्पण गरेको थियो।
प्राधिकरणले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विविध कारणले दोस्रो चौमासिकभित्र सुरु पनि नभएको र बाँकी अवधिमा पनि कार्यान्वयन हुन नसक्ने भनी गत चैत १० गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशलाई कार्यक्रम समर्पण भन्दै पत्र पठाएको थियो। अन्तिम समयमा आएर काम गर्न नसक्ने अवस्था भएपछि प्राधिकरणले कार्यक्रम नै समर्पण गरेको हो। ताल संरक्षण गर्नकै लागि बनेको प्राधिकरणले पनि काम गर्न नसक्नुले प्राधिकरणमाथि प्रश्न उब्जिएको छ।



