काठमाडौँ- नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको २०औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान राखेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन्।
आज भएको २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। यसअघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। नासिरले उक्त किर्तिमान ११औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए।
नासिरले हिजो भएको ४०० मिटर फ्री-स्टायलमा पनि ४ मिनेट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।
आजै भएको महिला तर्फको खेलमा दक्षिण एसियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले उपलब्धि हासिल गर्न सकिनन्। उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दूरी पूरा गरिन्। भोलि ९ गते डुवाना लामाले २०० मिटर फ्रीस्टायलमा प्रतिस्पर्धा गर्ने टोली व्यवस्थापक नरेश वैद्यले जानकारी गराएका छन्।
विश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वर्ल्ड एक्वाटिक्सको नामाकरण गरेको छ।


