काठमाडौं– नेपाल प्रहरीको नक्सालस्थित मुख्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको हो। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै गैरहाजिरी रहेका एक प्रहरी हवलदार, पाँच प्रहरी सहायक हवलदार र १६ प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
सम्पर्कमा नरहेका प्रहरी हवलदार इलाका प्रहरी कार्यालय कात्तिके देउराली, काभ्रेपलाञ्चोकमा दरबन्दी भएका प्रेमराज दुरा रहेको प्रहरीको सूचनामा उल्लेख छ। यस्तै, प्रहरी वृत्त बालाजुमा दरबन्दी रहेका सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुसीमा दरबन्दी भएका सरु कार्की, कोसी प्रदेश प्रहरी गण, विराटनगरमा दरबन्दी भएका कृष्णदेव चौहान, चितवनमा दरबन्दी रहेका धर्मेन्द्र सिंह र जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रणा तथा अनुसन्धान शाखामा दरबन्दी रहेका मेषबहादुर राना गरी पाँच जना प्रहरी सहायक हवल्दार बिनाजानकारी कार्यक्षेत्रमा नखटिएको प्रहरीको सूचनामा जनाइएको छ।
विभिन्न जिल्लामा दरबन्दी रही सम्पर्कमा नरहेका प्रहरी जवानमा सञ्जीव देवकोटा, रामकुमार याक्सो, वसन्तकुमार यादव, अमरनाथ पासवान, सुनिल टमाटा, अर्मिला डिसी, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र कुमार साह, महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की, सोनाम लामा, कविता पौडेल र विपिनविक्रम विष्ट छन्।
उनीहरू आफूखुसी गैरहाजिर रहेको, खोजतलास गर्दा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी मुख्यालयले बताएको छ। गैरहाजिर हुनुपर्नाको कारण खोलेर सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को (ख) १ बमोजिम सेवाबाट हटाइने सूचनामा भनिएको छ।


