विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आफूले भनेकै कुरा सर्वोच्च अदालतले पनि प्रमाणित गरिदिएको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा मैले यसअघि पनि भनेको थिएँ। अहिले आएर पुष्टि भएको छ,’ नेता कोइरालाले भने, ‘नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी भएकाले यसले अन्य राजनीतिक दललाई पनि यससम्बन्धी पाठ सिकाउँछ।’
उनले थापाकै नेतृत्वमा कोशी प्रदेश सरकार गठन हुने पनि विश्वास व्यक्त गरे। थापा कामचलाउ मुख्यमन्त्री रहेको उनको भनाइ थियो। यद्यपि सर्वोच्च अदालतले भने कामचलाउ मुख्यमन्त्री को हुने भन्ने व्याख्या गरिदिएको छैन। सर्वोच्चले थापाको नियुक्ति नै अवैध ठहर गरेको छ। तर यो विषयमा प्रदेश प्रमुख परशुराम खापुङले पनि कुनै कुरा उल्लेख गरेका छैनन्।
‘थापा नेकां संसदीय दलका नेतासमेत रहनु भएकाले आगामी सात दिनभित्र उहाँको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास छ,’ कोइरालाको भनाइ छ।
कांग्रेस महासमितिको बैठकले नीति अधिवेशनका पनि काम गर्ने उनको भनाइ थियो। बैठकले पार्टीको आर्थिक नीति, मुलुकमा सुशासन, किसानका समस्या समाधान गर्नेजस्ता निर्णय लिने उनको भनाइ छ।
विदेशबाट सुन स्वदेशमा खपतका लागि नभई तस्करीका लागि आउने गरेकाले यसलाई रोकथाम गर्न र यसबाट मुलुकलाई पर्ने आर्थिक नोक्सानी न्यूनीकरण गर्न संसदीय समितिले निर्णय गर्ने विश्वास व्यक्त गरे। नेता डा कोइरालाले नेकां वर्तमान गठबन्धन सरकारलाई बलियो बनाउन प्रतिबद्ध रहेको विचार राखेका थिए।
कोशीमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान, साउन १६ सम्मको म्याद


