ललितपुर– ललितपुरको हिरण्यवर्ण महाविहारमा बुद्ध धर्मग्रन्थ प्रज्ञापारमिताको जीर्णद्धार तथा पुनर्लेखन कार्य सञ्चालन भइरहेको छ। हरेक मलमास (पुरुषोत्तम मास)को एक महिना अवधिभर सो कार्य सञ्चालन गरिन्छ।
बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तीका सिद्धान्तहरु र भगवान बुद्धसँग सम्वन्धित विभिन्न प्रसंगहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताए। सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी प्रज्ञापारमिताको जीर्णद्धारकार्य भइरहेको छ।
तीन सय पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टसाहस्रिकासमेत भन्ने गरिन्छ। खाना खाए पश्चात लेख्न नहुने भएकाले दैनिक ८:३० देखि १२ बजेसम्म लेखन कार्य गरिन्छ। सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता छ।













