काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलोग्रा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका १८ जनालाई १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। विभिन्न मितिमा पक्राउ परेकाहरूलाई उच्च अदालत पाटनमा उपस्थिति गराएर प्रहरीले १५ दिनको म्याद लिएको हो।
रेडी ट्रेडले हङकङबाट ल्याएको ब्रेकसुमा झन्डे १०० किलो सुन भित्र्याएको आरोप छ। यद्यपि त्यसमा कति किलोग्राम सुन छ भन्ने विषयमा अहिलेसम्म कुनै पनि सरकारी निकायले जानकारी दिएका छैनन्।
आइतबार ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका थिए। यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन्।
भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, रूकमिना सुब्बा, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, र चिनियाँ नागरिक लिन जेछियाङ छन्।


