काठमाडौँ– ८ हजार मिटरभन्दा माथिका १४ वटै हिमाल ९२ दिनमा नै आरोहण गरेर रेकर्ड बनाएका दुई आरोहीलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ। छोटो समयमा १४ हिमाल आरोहण गरेर विश्वकीर्तिमान बनाएर काठमाडौँ फर्केपछि नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलालाई काठमाडौँ विमानस्थलमा भव्य स्वागत गरिएको हो।
शनिबार बिहान काठमाडौँ अवतरण गरेका दुई आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्। उनीसँगै पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघलगायतका संघसंस्थाका प्रतिनिधिहरूले उनीहरूलाई स्वागत गरेका थिए।
साउन ११ गते बिहान ११ बजेर ४५ मिनेटमा लामा र हरिलाले दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेपछि उनीहरूले नयाँ रेकर्ड बनाएका हुन्। यसअघि निर्मल पुर्जा मगरले ६ महिना ६ दिनमा यी १४ हिमाल आरोहण गरेका थिए।
त्यसभन्दा पहिले यो रेकर्ड कोरियाली नागरिक किम चाङ होको नाममा थियो। उनले ७ वर्ष १० महिना ६ दिन लगाएर उक्त रेकर्ड बनाएका थिए। सन् २०१८ मा म्याग्दी जिल्लास्थित गुर्जा हिमालको आधारशिविरमा हिमपहिरोमा परी उनको मृत्यु भएको थियो।















