काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बेलुका ९ बजे आएको पहिरोले घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दिएको हो।
मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय छोरी आश्मा तामाङ रहेको प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले पुष्टि गरे। गणेशकी श्रीमती सञ्जु घरबाहिर रहेका कारण जोगिए पनि सामान्य घाइते भएकी छन् भने छोरा सकुशल छन्।
पहिरोले पुरेको घर कच्ची र भिरालो ठाउँमा रहेका कारण रातीको समय थाहा नहुँदा बाबुछोरीको ज्यान गएको हुन सक्ने प्रहरी प्रवक्ता ढुंगेलको भनाइ छ। मृतक बाबुछोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। पहिरोमा परेका बाबुको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु तारकेश्वरका मेयर कृष्णहरि महर्जनले जानकारी दिए।


