विर्तामोड- भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भूटानी शरणार्थीलाई स्वदेश फर्काउन भूटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गरेका छन्। सन् १९९० मा भूटानबाट निर्वासित भएपछि झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहेका उनले यस्तो आग्रह गरेका हुन्।
भूटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गरेका हुन्। बिर्तामोडमा आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले भूटानमा दिनानुदिन सङ्कट चुलिइरहेको, राष्ट्रियता र प्रजातन्त्र जोखिममा रहेको लगायतका कारण जनाउँदै देशभित्रको राजनीतिक समस्या राष्ट्रिय मेलमिलापको नीतिबाट मात्र हल गर्न सकिने भएको हुँदा भूटानका राजालाई पत्र पठाएको जानकारी दिए।
भूटानको पारो, चाम्गाङ, राबुना, मोन्गार, साम्द्रुपजोङ्खार लगायतका विभिन्न जेलमा दुई सयभन्दा बढी राजबन्दी बिना सुनुवाइ थुनिएको जनाउँदै प्रजातन्त्र र मानव अधिकारको आन्दोलनमा सहभागी हुँदा कठोर जेल जीवन बिताइरहेको ती सबैलाई बिना सर्त रिहाइ गर्न भूटानी राजालाई आग्रह गरेका छन्।
‘भूटान नै नरहने हो कि भन्ने किसिमको सङ्कटहरु उत्पन्न भइरहेको छ,’ उनले भने, ‘आफ्नो भाषा, संस्कृति र प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउँदा दक्षिण भूटानका डेढ लाख नागरिकलाई ३० वर्षअघि अन्यायपूर्वक देशनिकाला गरियो। वर्तमान राजालाई हामी ती सबै राजबन्दीलाई बिनासर्त रिहाइ गरेर भूटानमा राष्ट्रिय मेलमिलापको नीति अपनाउन हार्दिक अपिल गर्दछौँ।’
अध्यक्ष पौडेलले दक्षिण भूटानबाट देश निकालामा परेका २० प्रतिशत भूटानी नागरिकहरु हाल कतिपय शरणार्थीको रुपमा तेस्रो मुलुकमा पुनःस्थापना भइसकेको र कतिपय हालसम्म पनि शरणार्थी शिविरमा दर्ता भई झापा र मोरङमा कष्टकर जीवन बिताइरहेको विषयमा चिठीमार्फत भूटानी राजालाई अवगत गराए।
पौडेलका अनुसार डेढ लाख भूटानी शरणार्थीमध्ये सात हजारको सङ्ख्यामा अझैसम्म शिविरमा रहेको र अरुहरु तेस्रो मुलुक पुगेका छन्। तेस्रो मुलुक पुगेका र शिविरभित्रै बसिरहेका सबै भूटानी शरणार्थीहरु आफ्नो देश भूटान फर्कन पाउने प्रतीक्षामा रहेको उनले बताए। त्यसका लागि भूटानी राजाले जेलमा रहेका सबै राजबन्दीलाई रिहा गर्नुपर्ने र सबै शरणार्थीलाई स्वदेश फर्किने वातावरण तयार पार्नुपर्ने पौडेलले माग गरे।
‘हामीलाई नेपाल सरकारले गाँस, बास र कपासको व्यवस्था गरिदियो,’ उनले भने, ‘तैपनि खुसी छैनौँ। किनकि हामी आफ्नै देश भूटान फर्किन चाहन्छौँ। भूटान जान नपाएसम्म हामी खुसी हुन सक्दैनौँ।’
भूटान सरकारसँग संवाद गरेर भूटानी शरणार्थीलाई स्वदेश फर्किने वातावरण बनाउनका लागि सहयोग गरिदिन नेपाल सरकारलाई उनको अनुरोध छ। नेपालमा रहेका शरणार्थीको परिचय नवीकरण गरिदिन र दर्तामा छुटेकाहरुको दर्ता गरिदिन उनले नेपाल सरकारसँग आग्रह गरे।


