काठमाडौँ- सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि काठमाडौँको जमलमा रथ बनाउन थालिएको छ। वर्षा र सहकालका देवता मानिने करुणामय र आर्याअवलोकितेश्वरका नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथको रथ बनाउन सुरु भएको हो।
सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। चैत्र शुक्ल पक्ष अष्टमीका दिन यो जात्रा सुरु भई तीन दिनसम्म हुने गर्दछ ।अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।
किंवदन्तीअनुसार जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीमा राख्दा जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो। सोही परम्परा अनुसार हालपनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ।
उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन्। धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध महायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ।
















