बैतडी- महिनावारी भएर गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी अनिता चन्दको मृत्यु भएको हो।
पञ्चेश्वर–४ का वडाध्यक्ष जनक बहादुर चन्दले महिनावारीमा गोठमा बसेका बेला सर्पले टोक्दा अनिताको मृत्यु भएको बताए। ‘सर्पको टोकाईबाट १६ वर्षीया बहिनीको मृत्यु भएको छ। मंगलबार राति सर्पले टोकेको रहेछ,’ उनले भने।
महिनावारी भएपछि अनिता ४ दिनदेखि उनी गाइ–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्। अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्। महिनावारीका बेला गोठमा सुतेका कारण सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको घटनाबारे भने प्रहरीले अनविज्ञता प्रकट गरेको छ।


