काठमाडौं– नेपालमा मनसुन सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ।
नेपालमा मनसुन सुरु भएको समय गत ३१ जेठदेखि २४ साउनसम्म बाढीपहिरोबाट ज्यान गुमाउने ४१ र बेपत्ता हुनेको संख्या ३१ पुगेको मन्त्रालयले विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार बाढीपहिरोका कारण हालसम्म संखुवासभामा ३ जनाको मृत्यु भएको छ भने १९ हराइरहेका छन्। बेपत्ता भएका उनीहरू सुपर हेवा हाइड्रोका मजदुर हुन्।
यस्तै, पहिरोबाट ओखलढुंगामा ४, ताप्लेजुङ, दोलखा, अर्घाखाँची, मकवानपुरमा ३–३ जनाको मृत्यु भएको छ। रुकुम पश्चिम, काठमाडौं, गोरखा, तनहुँ, रसुवा, बैतडीमा २–२ जनाको मृत्यु भएको छ। मनसुन सुरु भएयता बाढीपहिरोकै कारण १३२ घरमा पूर्ण क्षति र १९४ घरमा आंशिक क्षति पुगेको छ।
