काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र लिएको आशंकामा पक्राउ पर्ने चिकित्सकको संख्या ७ पुगेको छ। सीआईबीले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा कांग्रेस सांसद सुनील शर्मासहित ७ चिकित्सक पक्राउ परेका हुन्।
बिहीबार बेलुकी पाँच जना पक्राउ परेकामा आज बिहान थप दुई जना पक्राउ परेको सीआईबीले बताएको छ। आज पक्राउ पर्नेमा मोरङबाट मनीष चौधरी र इशान अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार रहेका छन्।
प्रहरी टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो।
बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना साह रहेका छन्। सीआईबी टोलीले साहलाई काठमाडौंबाट र यादवलाई रौतहटबाट पक्राउ गरेको हो।
सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकैसाथ अपरेसन चलाएको थियो। सीआईबीले कांग्रेस सांसद शर्मालाई गोल्फुटारस्थित उनको घरबाटै पक्राउ गरेको थियो।
शर्माले आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र लिएर थप अध्ययन गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सांसद शर्मा पक्राउबारे सीआईबीले आजै संसद् सचिवालयलाई जानकारी गराइसकेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि सीआईबीले अनुसन्धानका क्रममा आशंकितलाई पक्राउ गरेको उनको भनाइ छ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध सञ्चालन गरिएको अपरेसनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको छ। अपरेसन कमान्ड डीएसपी डा. तपन दाहालले सम्हालेका छन्।


