भोजपुर– पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ। जंगलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो। परिवारसँग निगुरो टिप्न झ्यालसिङे जंगलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो।
ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए। खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुरका सहसेनानी, सञ्जीव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमाण्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृतावस्थामा फेला परेका हुन् ।
मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
यस्तै, बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन्। जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारीका १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए।
बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा गए राती सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए।बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकालेका थिए।
सुनारको शव शुक्रबार नै भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि ल्याइएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक बेल्बासेले बताए। जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार खोलामा बाढी आएको समयमा पौडी खेल्दा बेपत्ता भएको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दलकृष्ण सुनारले जानकारी दिए।
लगातारको वर्षाले बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा बग्ने जेठी नाला, किरण नाला र पेडारी नालामा बाढी आएको छ। वर्षामा बाढी आउने खोला नाला, पोखरी, पानी जमेको ठाउँमा दुर्घटना हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए।


