आठराई- तेह्रथुमको आठराई गाउँपालिका-१, डाँडागाउँमा सुगुँरको खोरमा एक जना महिलाको शव फेला परेको छ। सोही स्थानमा पसल तथा होटल सञ्चालन गर्दै आएकी रेसिका (दमन्ता) श्रेष्ठको शव सुँगुरको खोरमा गाडिएको अवस्थामा फेला परेको हो।
साविक थोक्लुङ गाविस वडा नम्बर-२ की २५ वर्षीया रेसिका साउन १४ गतेदेखि हराइरहेकी थिइन्। रेसिकाको शव उनले नै सञ्चालन गर्दै आएको पसलको छेउमा फेला परेको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले पुष्टि गरेको छ। रेसिकाका श्रीमान राजकुमार श्रेष्ठ सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
शव भेटिएको स्थानलाई प्रहरीले सिल गरेर राखेको छ। जिल्ला प्रहरी कार्यालय म्याङलुङबाट प्रहरीको टोलीसमेत अनुसन्धानका लागि आउने क्रममा रहको इलाका प्रहरी कार्यालयकी हवल्दार चन्द्रकला चौधरीले जानकारी दिइन्।
साउन १५ गते राजकुमार आफैँले श्रीमती हराएको जानकारी ईलाका प्रहरी कार्यालयलाई गराएका थिए। यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। तर प्रहरीले खोजी सुरु गरेपछि उनी आफैँले श्रीमती रेसिका आफन्तकोमा झापामा गएको भन्दै खोजी नगर्न प्रहरीलाई खबर गरेका थिए।
दमन्ताको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



