काठमाडौं– मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएसँगै यसको प्रभावस्वरुप देशैभर ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेकाले केही दिन वर्षा हुने पूर्वानुमान महाशाखाको छ।
सोही कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ।
आज दिउँसो देशैभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ। आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
देशैभर भारी वर्षाको सम्भावनाका कारण नदीको जल सतह बढ्ने, बाढीपहिरोजस्ता प्रकोप हुन सक्ने भएकाले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।


