काठमाडौं– सत्तारुढ कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। गत शुक्रबारदेखि जारी संसदीय दलको बैठकमा सहभागीले सरकारका कामकारबाही, पार्टी संगठन, भ्रातृ संगठनमा गरिएको मनोनयनलगायत विषयमा आ–आफ्ना धारणा राखिरहेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा १० बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यालय सानेपाले जनाएको छ। आइतबारको बैठकमा कांग्रेस सांसदले सुन तस्करी प्रकरणमा नेकपा माओावदीले आफ्ना मान्छे जोगाएको आरोप लगाएका थिए। उनीहरुले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि कांग्रेसले ‘रिभ्यू’ गर्नुपर्नेसमेत आवाज उठाएका थिए।
पछिल्लो समय १० साउनदेखि सुन तस्करी प्रकरण छानबिनको माग राख्दै मुख्य प्रतिपक्षी एमालेले गर्दै आएको संसद् अवरोधबारे पनि चर्चा भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए।
आइतबारसम्म ५४ सांसद बोलिसकेका छन् भने आज बाँकी सदस्य बोल्नेछन्। प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी कांग्रेसका ९७ सांसद छन्।


