काठमाडौँ- जनमत पार्टीकी सांसद अनितादेवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराएका हुन्।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायत सहभागी थिए।
अनितालाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्। यसअघि सोही मन्त्रालय सम्हालेका माओवादी सांसद अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय प्रधानमन्त्रीले माओवादी पदाधिकारीलाई सुनाएका थिए।
यसअघि पनि प्रचण्ड सरकारमा जनमत सहभागी भएको थियो। अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए। खान बाहिरिएको ४ महिनापछि जनमतले सत्तारोहण गरेको हो।



