काठमाडौँ- छिमेकी देश भारतको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासमा भारत महोत्सव कार्यक्रम आयोजना गरिएको छ। नेपालमा रहेका भारतीय नागरिकको संस्था इन्डियन सिटिजन एसोसिएसन अफ नेपाल र काठमाडौँस्थित भारतीय दूतावासले आइतबार संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन्।
दूतावास परिसरमा आयोजना गरिएको कार्यक्रममा मुख्य अतिथि मिसन उपप्रमुख प्रसन्न श्रीवास्तव थिए। महोत्सवलाई सम्बोधन गर्दै श्रीवास्तवले भारत र नेपालबीच अनुपम र विशेष सम्बन्ध रहेको उल्लेख गरेका थिए। चौथो संस्करणको महोत्सवमा उनले भारतको स्वतन्त्रता दिवसमा सबैलाई शुभकामना प्रदान गरेका थिए। महोत्वसको आयोजना गरिएको हर्ष प्रकट गर्दै उनले एसोसिएसनका अध्यक्ष मनोज कन्दोई र उनको टिमलाई बधाई दिएका थिए।

कार्यक्रमका लागि भारतबाट आएका गायक हेमन्त बृजवासीले देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए। मोटिभेसनल स्पिकर अमित टोडीले प्रेरक प्रसंगहरू सुनाएका थिए। यसका साथै काठमाडौँका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राले सामूहिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा २ हजार ५ सय भन्दा बढी व्यक्ति सहभागी भएका थिए।
अगस्ट १५ मा भारतले ७७औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।



