पोखरा- गण्डकी प्रदेश सरकारले चैते दसैँमा सार्वजनिक बिदा दिने भएको छ। चैत १५ गते बुधबार पर्ने उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को गत वर्ष २०७८ चैत १८ गतेको निर्णयअनुसार यसपालिको चैते दसैँमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ।
सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ। प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए।
हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ। चैत्र अष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।



