काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसले चलाएको संगठन सुदृढीकरण अभियान सम्पन्न भएको छ। कांग्रेसले साउन २० गते देखि १० दिनका लागि चलाएको आन्तरिक विशेष अभियान सम्पन्न भएको हो।
सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरू काठमाडौं फर्कन थालेका छन्। पार्टी संगठनको अवस्था, विधान कार्यान्वयनको स्थिती, स्थानीय सरकार र पार्टीबीचको सम्बन्ध लगायतका विषयमा प्रतिनिधिहरुले प्रतिवेदन पेश गर्नेछन् ।
कांग्रेसले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम तयार गरेको छ। नयाँ पुस्तासँग जोडिने गरी कुनै अभियान सञ्चालन गर्न नसक्दा संगठन निरन्तर क्षयीकरण हुँदै गएको निष्कर्षमा पुगेको कांग्रेसले एक वर्षसम्म विविध कार्यक्रम गर्दैछ।


