काठमाडौं- महोत्तरीको बर्दिबासबाट पैदलै काठमाडौं आइपुगेका मिटरब्याज पीडितले खुलामञ्चमा प्रदर्शन गर्ने तयारी गरेका छन्।
लगातार ११ दिनसम्म हिँडेर आइतबार मातातीर्थ आइपुगेका उनीहरू त्यहीँ बसेका थिए। सोमबार खाना खाएर उनीहरू खुलामञ्चतर्फ अघि बढ्ने तयारीमा छन्।
यात्रामा ४२ जना महिला साथै केही स्कुले विद्यार्थी पनि छन्। मिटरब्याजविरुद्ध यसअघिदेखि नै धर्ना बसे पनि सरकारले प्रतिबद्धता पूरा नगरेपछि उनीहरू मधेशबाट पैदलै काठमाडौँ आएका हुन्।
गत वर्ष २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले १ असोजमा सम्झौता गरेको थियो। गृह मन्त्रालयले गरेको सम्झौतामा सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, पीडितलाई राहत प्रदान गर्ने उल्लेख थियो।





