काठमाडौं– सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैद मिनाहाप्रति गम्भीर प्रश्न उठाएको छ । पूर्व सांसद चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई लिएर सर्वोच्चले प्रश्न उठाएको हो ।
चौधरीले गत जेठ १५ मा ८ वर्ष कैद भुक्तान गरि बाँकी सजाय माफी मिनाहा गर्ने निर्णय गरेसँगै थुनामुक्त भएका थिए । सोही विषयमा अदालतले क्रुर र अमानवीय रुपमा ज्यान मारेको कसुर पुष्टि भएको व्यक्तिलाई माफी मिनाहा गर्न नहुने भन्दै प्रश्न उठाएको छ ।
उक्त घटनालाई सवोच्चले ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ । सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आयो ।’


